बुटवल:- बुटवल उपमहानगरपालिका वडा नं. १२ मा विभिन्न पार्टी परित्याग गरी तीन दर्जनभन्दा बढी युवा नेपाली काँग्रेस मा प्रवेश गरेका छन्।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा बिहीबार उम्मेदवारसहितको घरदैलो कार्यक्रमका अवसरमा उनीहरू काँग्रेसमा प्रवेश गरेका हुन्। बुटवल–१२ रुपन्देही क्षेत्र नं. २ अन्तर्गत पर्दछ।
उक्त निर्वाचन क्षेत्रमा काँग्रेसका तर्फबाट महासमिति सदस्यसमेत रहेका उद्योगपति चुन्नप्रसाद पौडेल उम्मेदवार छन्। साथै, सोही क्षेत्रकी समानुपातिक उम्मेदवार रिता सेन ओलीलाई पनि पार्टीले अघि सारेको छ। नवप्रवेशी युवाहरूलाई उम्मेदवारसहितका नेताहरूले पार्टीमा स्वागत गरेका थिए।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्दै पार्टी प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन्। युवाहरूको प्रवेशले काँग्रेसको पक्षमा बनेको माहोल अझ मजबुत बनेको वडा नं. १२ का सभापति धर्मराज आचार्यले बताए।
कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन ओली, वडा सभापति धर्मराज आचार्य, महासमिति सदस्य दीर्घबहादुर केसी, नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही, क्षेत्रीय सभापति हसन्त लामा, नगर सभापति सुजन पुन, टिकाराम भट्टराईलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
नेतृत्व परिवर्तनसँगै युवाहरूको आकर्षण काँग्रेसतर्फ बढ्दै गएको दाबी गरिएको छ। नवप्रवेशीहरूले देशमा स्थायित्व, विकास र अवसर सिर्जनाका लागि काँग्रेस उपयुक्त शक्ति रहेको भन्दै संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

