बुटवल :- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहानदेखि परेको वर्षासँगै सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खसेपछि सवारी आवागमन ठप्प बनेको हो। सडक माथिबाट निरन्तर झर्ने ढुङ्गा र माटोका कारण उक्त खण्ड अत्यन्त जोखिमपूर्ण बनेको छ।

प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पातर्फ जाने तथा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्। वैकल्पिक मार्ग तत्काल उपलब्ध नभएकाले यात्रुहरू अलपत्र परेका छन्।

सिद्धबाबा क्षेत्र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिन्छ। वर्षा सुरु हुनासाथ यहाँ पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षा भइरहेकाले तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको बताइएको छ।
प्रशासनले यात्रुलाई आवश्यक सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

