बुटवल :- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेस लाई समर्थन गर्ने निर्णय गरेको छ।

राप्रपाले सिद्धान्त र वैचारिक भिन्नता भए पनि वर्तमान राजनीतिक परिस्थितिमा आर्थिक, सामाजिक तथा समृद्धिको एजेन्डामा कांग्रेससँग नजिक रहेको जनाउँदै उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल लाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ।
राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापा द्वारा जारी विज्ञप्तिमा राजनीतिक सहमतिका आधारमा क्षेत्रीय विकास, सुशासन र स्थायित्वका पक्षमा सहकार्य गर्ने उल्लेख छ। विज्ञप्तिमा देशको आर्थिक, सामाजिक तथा समृद्धिको एजेन्डामा निकटता रहेकाले कांग्रेस उम्मेदवारलाई समर्थन गरिएको स्पष्ट पारिएको छ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाले उम्मेदवारी दर्ता गराए पनि प्राविधिक कारणवश उम्मेदवारी फिर्ता लिएको थियो। यद्यपि पार्टी देश र जनताप्रति उत्तरदायी भूमिकामा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याएको छ।
राप्रपाले आफ्ना नेता–कार्यकर्ता तथा समर्थक मतदातालाई प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार पौडेललाई ‘रुख’ चिन्हमा मतदान गर्न र समानुपातिकतर्फ राप्रपाको ‘हलोत’ चिन्हमा मतदान गर्न आग्रह गरेको छ। २०७९ सालको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो।
यस समर्थनले कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्दै कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरी ले मतदाताको साथ र समर्थनप्रति आभार व्यक्त गरेका छन्।

