धुर्कोट :- धुर्कोट गाउँपालिका वडा नम्बर ६ मा सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागितामा बालमैत्री अभ्यासलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा बालअधिकारको संरक्षण, प्रवर्द्धन तथा बालमैत्री वातावरण निर्माणमा सरोकारवालाको भूमिकालाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर नेपालीले बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले साना कार्यक्रमहरूलाई समेत बालमैत्री बनाउँदै लैजान सके बालबालिकाको सहभागिता, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा सहजकर्ता पवित्रा भुसाल र सुजता गिरीले वडामा सञ्चालन भइरहेका कार्यक्रम तथा गतिविधिहरूमा बालमैत्री दृष्टिकोणलाई प्राथमिकताका साथ समेटिँदै आएको जानकारी गराउनुभयो। बालबालिकाको विचार, चाहना र आवश्यकतालाई योजना निर्माण प्रक्रियामा समावेश गरेमा मात्र दिगो र समावेशी विकास सम्भव हुने उहाँहरूको भनाइ थियो।
अन्तरक्रियामा सहभागी सुजता गिरीलगायतले बालमैत्री अभ्यासलाई व्यवहारमा उतार्न अभिभावक, शिक्षक, सञ्चारकर्मी तथा स्थानीय समुदायबीच सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा बालअधिकार, सुरक्षित सिकाइ वातावरण, खेलकुद तथा सिर्जनात्मक गतिविधिमा बालबालिकाको पहुँच विस्तारका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले धुर्कोट गाउँपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा बनाउने दिशामा सामूहिक प्रतिबद्धता व्यक्त गर्दै यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सहजीकरण वडा सचिव मीनबहादुर घर्तीले गर्नुभएको थियो।
![]()

