काठमाडौं :-नेपाली मौलिक तीज गीत–संगीतका स्रष्टा, गायक–गायिका तथा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित ‘चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड–२०८३’ को फाइनल तथा राष्ट्रिय नारी स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशन नेपाल, अनामनगर काठमाडौंको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष तथा गायक–सर्जक हुम गैरेको अध्यक्षता र सांसद साजिदा सिद्धिकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

संस्थाका उपाध्यक्ष तथा गायक धिरज खत्रीका अनुसार तीज गीत–संगीतसँग सम्बन्धित विभिन्न १८ विधामा अवार्ड वितरण गरिएको छ भने गीत–संगीत, अभिनय, निर्देशन तथा अन्य क्षेत्रमा योगदान पुर्याएका करिब एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ।
कार्यक्रममा वरिष्ठ लोकगायिका शिला आले, वरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट र अग्रज गायिका देवी हमाललगायतलाई सम्मान गरिएको थियो। त्यस्तै मोडल तथा निर्देशक लिलाराज बानियाँ, बिजेन्द्र नौबागे र प्रदीपकुमार रसाइली, लोकगायक मोतीराज खनाल, लोकगायिका विमला सुनार, महिला उद्यमी पुष्पा बीसी तथा मोडल पवन बराइलीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।

यसपटक दर्शकबाट सर्वाधिक मत प्राप्त गर्ने तीन कलाकारलाई विशेष ‘गोल्डेन अवार्ड’ प्रदान गरिएको छ। गायक सन्तोष परियार, गायिका रिया सुनार र गायिका बिन्दु थापा (निहारिका) गोल्डेन अवार्डबाट सम्मानित भएका हुन्।
विशाल मुभिज प्रालिका सीईओ विशाल गैरेले अहिलेको विषम परिस्थितिका बाबजुद विगतका संस्करणजस्तै यस वर्षको कार्यक्रमलाई पनि सफलतापूर्वक सम्पन्न गरिएको बताए।
आयोजकले सार्वजनिक गरेको नतिजाअनुसार उत्कृष्ट तीज गीततर्फ ‘पिंजडाको चरी’बाट पुष्कल भट्टराई विजेता बनेका छन्। उत्कृष्ट मौलिक तीज गीत गायकतर्फ ‘कालो चस्मा’बाट गोविन्द परियार, गायिकातर्फ ‘झुम्का कस्तो छ’बाट रिया सुनार तथा गायिका जुरीतर्फ ‘मै छोरी चेलीलाई’बाट प्रमिला पुन अवार्ड विजेता बने।
उत्कृष्ट तीज गीत गायकतर्फ ‘जोवान सियारी’बाट शिव शर्मा, गायक जुरीतर्फ ‘मेरै राजकुमार’बाट बाबुराम परियार, नवगायिकातर्फ ‘फूल देवीलाई’बाट बिन्दु थापा (निहारिका) र नवगायकतर्फ ‘नाँच फनिनी’बाट सन्तोष परियार उत्कृष्ट घोषित भए। नवगायक पब्लिक च्वाइसतर्फ ‘मै राम्री छु ए राजै’बाट राजेन्द्र क्षेत्रीले अवार्ड हात पारे।
शब्द संकलकतर्फ ‘ढल्की ढल्की’का कुमार कार्की, लय संकलकतर्फ ‘डालीको मैना’का प्रकाश पन्त र लय संकलक जुरीतर्फ ‘दिदी बैनी हो’का मन्त्री कौशल उत्कृष्ट बने। छायांकनतर्फ ‘सिङ्गापुरे सारी’का नक्कले प्रेम स्याङतान तथा महिला मोडलतर्फ ‘बैंश ढलढल’की संगीता तामाङ (मैचा) पुरस्कृत भए।
उत्कृष्ट लाइभ तीज गीत गायकको अवार्ड राम परियारले प्राप्त गर्दा वर्षको उत्कृष्ट तीज गीत रेकर्डिस्टतर्फ ‘म्वाई खाँदै म्वाई खाँद’का सागर बाजुराली विजेता बने। वर्षको उत्कृष्ट तीज गीत मञ्च प्रस्तुतितर्फ बिमला विश्वकर्मा पुरस्कृत भइन् भने नवप्रतिभा मञ्च प्रस्तुति विधामा समेत अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
तीज गीत केवल चाडपर्वको मनोरञ्जनमा सीमित नभई नेपाली समाजको संस्कृति, मौलिकता, नारी भावना र सिर्जनशीलतासँग जोडिएको सांगीतिक अभिव्यक्ति पनि हो। चार संस्करणसम्म आइपुगेको विशाल राष्ट्रिय तीज म्युजिक अवार्डले नयाँ प्रतिभालाई प्रोत्साहनसँगै लामो समयदेखि नेपाली गीत–संगीतमा योगदान दिएका स्रष्टा र कलाकारको योगदानलाई सम्मान गर्ने प्रयास गरेको आयोजकको भनाइ छ।

