काठमाडौं :-आउँदो महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै भक्तिरस र आध्यात्मिक भावनाले भरिएको नयाँ भक्ति गीत “शिव भन्दै भन्दै” छिट्टै नै संगीत बजारमा सार्वजनिक हुने भएको छ। गीत सार्वजनिक हुनुअघि नै संगीतप्रेमी र शिवभक्तमाझ यसले विशेष चर्चा पाएको छ। यसको मुख्य कारण भनेको—यो गीत गायक सन्तोष खत्रीको सम्भावित अन्तिम गीत हुन सक्ने चर्चा हो।

शिवभक्तिको गहिरो भाव समेटिएको उक्त गीतमा सन्तोष खत्री र निशा केसीको सुमधुर स्वर सुन्न सकिनेछ। गीतका शब्द तथा संगीत ख्यातिप्राप्त स्रष्टा रामजी पौडेलले तयार पारेका हुन् भने, एरेञ्जमेन्ट अनुभवी संगीतकार तारानाथ आचार्यले गरेका छन्। 
शिवको नाम जप्दै जीवनका अनुभूति, आस्था र विश्वासलाई संगीतमार्फत प्रस्तुत गरिएको यो गीतले शिवभक्त तथा संगीतप्रेमीहरूको मन छुने अपेक्षा गरिएको छ। विशेषगरी महाशिवरात्रीको अवसरमा सार्वजनिक हुन लागेको यस गीतलाई भक्तजनका लागि एक आध्यात्मिक उपहारका रूपमा हेरिएको निर्माण पक्षको भनाइ छ।

गीतको भिडियो पक्ष पनि आकर्षक र भावनात्मक रहेको छ। भिडियोमा ब्रिटिश पौडेल र मनिषा सापकोटाको अभिनय देख्न पाइनेछ, जहाँ श्रद्धा, भावना र दृश्य सौन्दर्यलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
निर्माण टिमका अनुसार गीत छिट्टै नै सन्तोष खत्रीको आधिकारिक YouTube च्यानलमार्फत सार्वजनिक गरिनेछ। सम्भावित अन्तिम गीत हुन सक्ने चर्चा चलेसँगै “शिव भन्दै भन्दै” प्रति दर्शक–श्रोतामाझ भावनात्मक प्रतीक्षा अझ बढ्दै गएको छ।

