बुटवल :- आजभन्दा ठीक एक दशकअघि, २०७३ साउन ११ गते। तिनाउ नदी सामान्य अवस्थामा थिएन। निरन्तरको वर्षासँगै उर्लिएको तिनाउले बुटवलमा आफ्नो भयावह रूप देखाएको थियो।

त्यही ठूलो बाढीले देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल बगाएको थियो। स्थानीयको दैनिक आवतजावतसँग प्रत्यक्ष जोडिएको पुल बाढीको भेलमा परेपछि दुई क्षेत्रबीचको सहज सम्पर्कसमेत प्रभावित भएको थियो।

त्यतिबेला अहिलेको जस्तो देवीनगरमा पक्की पुल निर्माण भइसकेको थिएन। देवीनगर र बुद्धनगर वारपार गर्ने स्थानीयका लागि झोलुङ्गे पुल महत्वपूर्ण माध्यम थियो। पुल बगेपछि स्थानीयले आवतजावतमा ठूलो समस्या झेल्नुपरेको थियो।

दश वर्ष बितिसकेको छ। तिनाउ किनारको स्वरूप फेरिएको छ, पूर्वाधार थपिएका छन् र देवीनगरमा पक्की पुलसमेत बनेको छ। तर २०७३ साउन ११ गते उर्लिएको तिनाउ र भेलसँगै बगेको त्यो झोलुङ्गे पुलको दृश्य देख्नेहरूका लागि अझै स्मरणीय छ।
तिनाउ शान्त हुँदा बुटवलको सुन्दरता हो, तर वर्षायाममा यसको बहावले विगतमा पटक–पटक जोखिमको संकेत पनि दिएको छ।
२०७३ को त्यो बाढी केवल एउटा पुरानो घटना होइन, तिनाउ किनारमा पूर्वाधार निर्माण, नदी व्यवस्थापन र विपद् सतर्कता कति आवश्यक छ भन्ने सम्झाउने बुटवलको एउटा महत्वपूर्ण स्मृति पनि हो।

