बुटवल :-रूपन्देहीको तिलोत्तमा–१, ड्राइभरटोलस्थित द एसआर होटल एण्ड इभेन्ट्स प्रा.लि.ले भदौ १० गतेको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।

विपद्ले ठूलो मानवीय क्षति पुर्याएको दुःखद घडीमा दिवंगतहरूको सम्झना गर्दै होटल परिसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।
होटल सञ्चालक चिरन अर्यालका अनुसार बाढीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्न कार्यक्रम गरिएको हो।

दीप प्रज्वलनमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै विपद्बाट प्रभावित तथा शोकमा रहेका परिवारको दुःखमा समाजका सबै पक्ष एकजुट भएर उभिनुपर्ने सन्देशसमेत दिइएको छ।
प्राकृतिक विपद्ले निम्त्याएको क्षति र पीडालाई शब्दले मात्रै सम्बोधन गर्न नसकिने भन्दै सञ्चालक अर्यालले यस्तो कठिन समयमा मानवीय संवेदना, सहयोग र एकअर्काप्रतिको साथ सबैभन्दा महत्वपूर्ण हुने बताए।
भदौ १० को विनाशकारी बाढीमा गुमेका जीवनको सम्झनामा बालिएका दीपले मृतकप्रति श्रद्धाञ्जलीसँगै उनीहरूका परिवारप्रति ‘तपाईंहरूको दुःखमा हामी पनि साथमा छौँ’ भन्ने भावनात्मक सन्देश दिएको छ।

