बुटवल :- शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको सिद्धार्थ गौतम बुद्ध क्याम्पसले आफ्नो ३४औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा क्याम्पसले हालसम्म हासिल गरेका उपलब्धिहरू, शैक्षिक गुणस्तर अभिवृद्धिका प्रयासहरू तथा भविष्यका योजनाहरूका बारेमा विस्तृत जानकारी गराइएको थियो। साथै, विद्यार्थीहरूको प्रतिभा झल्काउने विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरूले उत्सवलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले क्याम्पसले स्थानीय स्तरमा शिक्षाको विकासमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको उन्नयनका लागि यस्ता संस्थाहरूले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिँदै आगामी दिनमा क्याम्पसले अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

उत्सवका अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा सहयोगीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। सहभागीहरूले क्याम्पसको निरन्तर प्रगति र योगदानप्रति खुशी व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गरेका थिए।
क्याम्पसले ३४ वर्षको यात्रामा शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार क्याम्पसलाई डिजिटल तथा क्यासलेस प्रणालीतर्फ लैजाने, अनलाइनमार्फत भर्ना फारम भर्न सकिने व्यवस्था गर्ने तथा पूर्वाधार विकासका लागि विभिन्न निकायसँग सहकार्य गर्ने योजना अघि बढाइएको जानकारी दिइयो।

हाल क्याम्पसमा करिब ७५० विद्यार्थी अध्ययनरत रहेका छन्। प्राचार्य गोपाल चापागाईं ले क्याम्पसको भौतिक तथा शैक्षिक विकासका लागि स्थानीय तह, समुदाय तथा सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

