काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउने रोडम्याप सार्वजनिक गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि क्षेत्रमा थोरै सुधारले पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे।
थापाले भने,”हामी दत्तचित्त भएर लागेमा पाँच वर्षभित्र प्रविधिको क्षेत्रमा साँच्चिकै ठूलो काम गर्न सक्छौं। करिब चार खर्ब रुपैयाँ बराबरको आईटी सेवा विदेशमा निर्यात गर्न सकिन्छ र दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ।”

उनले केही समयअघि दिएको ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति ट्रोल बनेको भए पनि त्यो हावादारी नभई योजनाबद्ध सोच भएको स्पष्ट पारे।
थापाले सन् २०२४–२०३४ लाई ‘आईटी दशक’का रूपमा अघि बढाउने लक्ष्य राख्दै पाँच वर्षभित्र ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने, २ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३–५ कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने योजना अघि सारेका छन्।
उनले थपे,”आईसीटी क्षेत्रमा कर नीति स्थिर बनाउनु, दक्ष जनशक्ति उत्पादनका लागि ट्यालेन्ट हब निर्माण र सार्वजनिक–निजी साझेदारीको मोडल अघि बढाउन आवश्यक छ। स्वदेशी डिजिटल उत्पादनलाई प्राथमिकता दिइनुपर्छ।”
थापाले आईटी क्षेत्रमा कानूनी अड्चनहरू हटाउनुपर्ने र कर दायरा स्थिर गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यसले केही वर्षभित्र नेपालको डिजिटल सेक्टरमा व्यापक सुधार ल्याउन सक्नेछ।

