बुटवल: नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले लामो समयदेखि अन्यौलमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

उहाँले काँग्रेस नेतृत्वमा सरकार बन्ने हो भने भुमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबासीको समस्या नीति बदलेर समाधान हुने उल्लेख गर्नुभयो।
निर्वाचन परिचालनका लागि गठित भुमिहीन-सुकुम्बासी तथा अव्यवस्थित बसोबास क्षेत्र समन्वय समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले विगतका जनप्रतिनिधिहरूले दिएको आश्वासन पूरा नभएकाले त्यहाँका मतदाताले विश्वास गर्न नसकेको बताउनुभयो।
उहाँले भन्नुभयाे “सुकुम्बासी समस्यालाई सधैँ भोट बैंकको रुपमा प्रयोग गर्ने होइन, समाधानका लागि सार्थक पहल गर्न आवश्यक छ।”

पौडेलले काँग्रेस नेतृत्वमा बहुमतको सरकार बन्नुपर्ने र त्यसका लागि आफू विजयी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले थप्नुभयो,
“गठबन्धन बिना निर्वाचनमा गएको र नीति तथा नेतृत्व परिवर्तन भएकाले काँग्रेसलाई हार्ने छुट छैन। भातृ तथा शुभेच्छुक संस्थाहरू पूर्ण रुपमा क्रियाशील भएर लाग्न आवश्यक छ।”
कार्यक्रममा समितिका संयोजक तथा काँग्रेस नेता हरिबहादुर आचार्य क्षेत्रीले आफ्नो कार्यकालमा गरेका प्रगति र पुर्जा वितरणको विवरण उम्मेदवार पौडेललाई हस्तान्तरण गरे। उनले आयोग विघटन भएकाले कतिपय पुर्जा वितरणको काम पूरा गर्न नसकेको जानकारी पनि दिए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले भने,”भूमिहिन सुकुम्बासी समस्यालाई भोट बैंकको रूपमा प्रयोग गरेको कारण उनीहरूको समस्या समाधान हुन सकेको छैन। काँग्रेस नेतृत्वको सरकार आएपछि यो समस्या स्थायी रूपमा समाधान हुनेछ।”
![]()

