काठमाडौं :- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले पार्टीको शान र प्रतिष्ठा जोगाउँदै कांग्रेसको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मध्यराति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएपछि सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसको नेतृत्व सानो जिम्मेवारी नभएको उल्लेख गर्नुभयो।

“नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन,” उहाँले भन्नुभयो, “म इमानदारीपूर्वक भन्छु—जुन विश्वासका साथ यो जिम्मेवारी सुम्पिनुभएको छ, त्यसमा कसैको पनि शिर झुक्न दिने छैन। नेपाली कांग्रेसको शान राख्छु।”

सभापति थापाले देश र पार्टी दुवै कठिन परिस्थितिमा रहेको अवस्थामा विशेष महाधिवेशन गर्नुपरेको बताउनुभयो। उहाँका अनुसार यो महाधिवेशन कसैको रहर नभई बाध्यताको परिणाम थियो।

“नेपाल दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा विशेष महाधिवेशन गर्ने हाम्रो चाहना थिएन,” थापाले भन्नुभयो, “तर यो बाध्यता थियो। यो जोखिम हामीले उठाउनै पर्थ्यो। मैले भन्दा पनि धेरै जोखिम तल बस्ने साथीहरूले उठाउनुभएको छ।”
नवनिर्वाचित सभापति थापाले पार्टीलाई एकताबद्ध गर्दै जनताको भरोसा पुनः स्थापित गर्ने दिशामा आफू प्रतिबद्ध रहने संकेत गर्नुभएको छ।

