बुटवल :- रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा रुपन्देही जिल्लामा उत्पादन तथा बिक्री हुँदै आएको दूध पूर्ण रूपमा शुद्ध रहेको जानकारी दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हलुवाईले रुपन्देहीका डेरीहरूबाट संकलित दूधको नियमित नमुना परीक्षण हुँदै आएको र हालसम्म कुनै पनि डेरीमा अखाद्य वस्तुको मिसावट नपाइएको स्पष्ट पार्नुभयो।
“हामीले पटक–पटक दूधको नमुना परीक्षण गरिरहेका छौँ। अहिलेसम्म रुपन्देहीका कुनै पनि डेरीमा दूधमा मिसावट भेटिएको छैन,” उहाँले भन्नुभयो।
दूध व्यवसायलाई अत्यन्तै पवित्र र संवेदनशील व्यवसायको रूपमा उल्लेख गर्दै उहाँले सबै डेरी व्यवसायीहरूलाई इमानदार, जिम्मेवार र उपभोक्तामैत्री बन्न आग्रह गर्नुभयो। साथै, आवश्यक तालिम तथा प्रशिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय सधैँ सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो। समितिले गर्दै आएका सामाजिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले डेरी व्यवसायी समितिले दूधको गुणस्तर कायम राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू समेत गर्दै आएको उल्लेख गर्नुभयो। समितिको थप सुदृढीकरणका लागि उद्योग वाणिज्य संघ सधैँ सहयोगी रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
साधारणसभामा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल प्रधान, घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल, डेरी व्यवसायी समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्मा, पूर्व अध्यक्ष नेत्र पाठक, संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
डेरी व्यवसायी समिति अध्यक्ष विष्णु प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जीवलाल न्यौपानेले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव याम प्रसाद शर्माले गर्नुभएको थियो।
उक्त अवसरमा SEE परीक्षामा उत्तीर्ण भएका समितिका सदस्यका छोराछोरीहरूलाई सम्मान समेत गरिएको थियो। साथै, साधारणसभाको बन्दसत्रमा सचिव शर्माले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
हाल रुपन्देही डेरी व्यवसायी समितिमा झण्डै ३०० जना डेरी व्यवसायीहरू आबद्ध रहेका छन्।
![]()

