काठमाडौं :- काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ। तीन दिनसम्म चल्ने प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीमा २० देशका ७० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन्।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार त्यहाँ दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, मेसिन तथा प्रविधि प्रदर्शन गरिनेछ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, कृषि उपजको भण्डारण, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित प्रविधि र उपकरण राखिनेछन्। बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको समेत सहभागिता रहनेछ।
किसानले एउटै स्थानमा विभिन्न कृषि उपकरण तथा प्रविधिको जानकारी लिन, तिनको तुलना गर्न र आवश्यक सामग्रीबारे प्रत्यक्ष बुझ्न सक्ने आयोजकको अपेक्षा छ।
स्वदेशी उत्पादकलाई विशेष छुट
स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्न आयोजकले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराउने जनाएको छ।
त्यस्तै, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ कम्पनीलाई स्टल शुल्कमा ६० प्रतिशत, नामियाका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
कृषि उत्पादन लागत घटाउने लक्ष्य
प्रदर्शनीको मुख्य उद्देश्य कृषि उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने र उत्पादन तथा उत्पादकत्व बढाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नु रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीले किसान, कृषि उद्यमी, उपकरण व्यवसायी, अनुसन्धानकर्ता तथा नीति निर्मातालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ। यसबाट नेपाली कृषि क्षेत्रको यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ।


