बुटवल :-निरन्तरको वर्षाले बुटवलसहित आसपासका क्षेत्रको जनजीवन प्रभावित बनेको छ। देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई विशेष सतर्कता अपनाउन सरकारी निकायले आग्रह गरेका छन्।

वर्षाका कारण बुटवलका विभिन्न सडकमा आवागमन प्रभावित हुने जोखिम बढेको छ भने पहाडी क्षेत्रसँग जोडिएका सडक तथा राजमार्गमा पहिरो र गेग्रान बहावको सम्भावना रहेको छ। सडक विभागले कमजोर सडक खण्ड, पहिरोको जोखिम भएका क्षेत्र तथा खोला–नाला आसपास विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विभागले भारी वर्षा भइरहेका बेला अत्यावश्यक अवस्थाबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा मौसम तथा सडकको पछिल्लो अवस्था बुझेर मात्रै निस्कन अनुरोध गरेको छ।

निरन्तर वर्षासँगै बुटवल भएर बग्ने तिनाउ नदी तथा आसपासका खोला–नालाको बहावमा आउने परिवर्तनप्रति पनि सतर्क रहनुपर्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको वास्तविक समयको नदी अनुगमन प्रणालीले बुटवलस्थित तिनाउ नदीलाई समेत निरन्तर निगरानी गरिरहेको छ।
विशेषगरी नदी तथा खोला किनार, होचा भूभाग र डुबानको सम्भावना भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले पानीको सतहमा हुने परिवर्तनलाई ध्यान दिनुपर्ने हुन्छ। पहाडी क्षेत्रमा पहिरोको जोखिम रहने भएकाले भिरालो जमिन, कमजोर भूभाग र पहिरोको इतिहास भएका स्थानमा थप सावधानी आवश्यक छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार पनि देशका विभिन्न स्थानमा वर्षासम्बन्धी सतर्कता सूचना सक्रिय रहेको जनाएको छ। विभागले मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिरहेको छ।
लगातारको वर्षाले दैनिक कामकाजसँगै यातायातमा असर पार्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलामा पानीको बहाव हेर्न नजान र आधिकारिक निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ।
मौसम तथा बाढीको पछिल्लो जानकारीका लागि जल तथा मौसम विज्ञान विभागले टोल फ्री नम्बर ११५५ सञ्चालनमा राखेको छ। उक्त नम्बरमा मौसम पूर्वानुमान तथा बाढी पूर्वसूचनासम्बन्धी जानकारी लिन सकिने विभागले जनाएको छ।

