बुटवल:-लायन्स क्लब अफ बुटवल सेन्ट्रलको Handover Takeover तथा Award Ceremony २०८३-०३-१२ शुक्रबार बुटवल कालिकानगरस्थित होटल भेल्भेट लक्समा सम्पन्न भएको छ।

लायन वर्ष २०२५/२६ का अध्यक्ष जमाल खानले औपचारिक रूपमा वर्ष २०२६/२७ का अध्यक्ष कृष्ण बन्धु अर्याललाई पद हस्तान्तरण गर्नुभयो। साथै, सचिव रामु रसाइलीले माइन्युट बुकसहित आफ्नो जिम्मेवारी निर्वाचित सचिव हिमाल खनाललाई तथा कोषाध्यक्ष राजेन्द्र थापाले हरहिसाबसहितको जिम्मेवारी निर्वाचित कोषाध्यक्ष आनन्द क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो। यस अवसरमा outgoing पदाधिकारीहरूले incoming पदाधिकारीलाई लायन्स परम्परा अनुसार लायन्स पिन, माला र खादा लगाएर सम्मान गरिएको थियो।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता लायन जमाल खानले गर्नुभएको थियो भने पद हस्तान्तरणपछि लायन कृष्ण बन्धु अर्यालले अध्यक्षता गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स डिस्ट्रिक्ट ३२५ पी, नेपालका सिनियर डिस्ट्रिक्ट एडभाइजर तथा क्लबका चार्टर प्रेसिडेन्ट लायन तिलक सुन्दर कार्कीले outgoing टिमको उत्कृष्ट कार्यको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा युवा सशक्तीकरणका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ नेतृत्वले सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय तह तथा विभिन्न संघसंस्थासँग समन्वय गरी प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट एडभाइजर तथा क्लबका पूर्व अध्यक्ष लायन विष्णु कुवरले outgoing टिमलाई बधाई तथा incoming टिमलाई शुभकामना दिँदै, क्लबले डिस्ट्रीकबाट विभिन्न विधामा सम्मान प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले आगामी वर्ष अझ उत्कृष्ट कार्य गर्दै क्लबलाई डिस्ट्रीकमा अझ मजबुत क्लबको रूपमा चिनाउने विश्वास व्यक्त गर्नुभयो।
जोन चेयरपर्सन तथा क्लबका पूर्व अध्यक्ष लायन बाल्दर गोदार, डिस्ट्रिक्ट डेपुटी चिफ लायन जनुर दिन मिया, क्लबका पूर्व अध्यक्ष लायन निरज के. सि. लगायतले पनि outgoing टिमलाई धन्यवाद तथा incoming टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्ष जमाल खानले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने सदस्यहरूलाई सम्मान गर्नुभएको थियो।

