काठमाडौं :-काठमाडौंको कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि आज दिउँसो करिब साढे २ बजे धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
गम्भीर घाइते भएका घिमिरेलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार साथी–साथीबीच भएको विवादका क्रममा हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र पक्राउका लागि टोली परिचालन गरिएको जनाएको छ।
“हतियार प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको छ। उनलाई छिट्टै पक्राउ गर्छौं, हाम्रो टोली खटिएको छ,” एसपी भट्टराईले बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

