बुटवल :- लियो क्लब अफ बुटवलले नयाँ नेतृत्व पाएको छ। क्लबको स्वर्ण जयन्तीको अवसरमा आयोजित धन्यवाद ज्ञापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहबाट लियो लक्ष्मण खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कविराज भुषाल, सचिवमा कुशल पाण्डे र कोषाध्यक्षमा विशाल खनाल चयन भएका छन्। त्यसैगरी लायन्स समन्वयकर्तामा मनोज पाण्डे तथा सदस्यता संयोजकमा अरुणा पछाई चयन भएका छन्।पद हस्तान्तरण समारोहमा बोल्दै प्रमुख अतिथि पूर्व लायन्स प्रधान पुरुषोत्तम भक्त प्रधानाङ्गले लियो क्लब युवालाई नेतृत्व सिकाउने र सामाजिक सेवामा जोड्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको बताउनुभयो। उहाँले नयाँ नेतृत्वले युवाको क्षमता र ऊर्जालाई समाज रूपान्तरणमा प्रयोग गर्दै सेवाका गतिविधिलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ ‘पी’ नेपालकी अध्यक्ष लियो सुष्मा बस्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै रुद्रगण धार्मिक संस्थाका परिकल्पनाकार लम्बु सरकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्व, लियो सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

स्वर्ण जयन्तीका अवसरमा क्लबले आफ्नो स्थापनाकालदेखि हालसम्म सञ्चालन गरेका सामाजिक तथा सेवामूलक गतिविधिको समीक्षा गर्दै क्लबको यात्रामा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष लियो गोकुल भण्डारीलगायतले क्लबले पाँच दशकको यात्रामा युवा नेतृत्व विकास तथा सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष लियो लक्ष्मण खनालले क्लबको स्वर्णिम इतिहासलाई आगामी पुस्तासँग जोड्दै युवा नेतृत्व विकास, सामाजिक सेवा र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पाँच दशकको विरासत बोकेको लियो क्लब अफ बुटवलले नयाँ नेतृत्वसँगै सेवाका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य लिएको जनाएको छ।

