बुटवल :- पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको बुटवलमा गर्भपतन गराउने क्रममा मृत्यु भएपछि खत्री नर्सिङ होम आसपासको क्षेत्र तनावग्रस्त बनेको छ। घटनापछि स्थानीयवासी र आफन्त आक्रोशित बनेपछि केही समय स्थिति तनावपूर्ण बनेको हो।

परिवारका अनुसार पाण्डेले निजी क्लिनिकहरूको ‘घनचक्कर’कै बीच ज्यान गुमाएकी हुन्। उनी नियमित गर्भ परीक्षणका लागि खत्री नर्सिङ होम जाँदै आएकी थिइन्। चैत २७ गते गरिएको भिडियो एक्स–रेमा गर्भको अवस्था असामान्य देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनले गर्भपतन गर्ने निर्णय लिएकी थिइन्।
वैशाख ५ गते उपचारका लागि बुटवल पुगेकी उनलाई खत्री नर्सिङ होमबाट जोनल फार्मेसी पठाइएको थियो, त्यहाँ औषधिमार्फत गर्भपतन गराउने प्रक्रिया सुरु गरिएको थियो। राति र बिहान गरी दुई चरणमा औषधि सेवन गराइए पनि अवस्था सुधार नभएपछि उनलाई इन्दुलेखा क्लिनिक लगिएको थियो।
त्यहाँ पनि औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि अन्ततः उनलाई लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक तथ्यले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीबिना विभिन्न स्थानमा असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ, जसले घटनामा गम्भीर लापरबाही भएको आशंका बलियो बनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव का अनुसार मृतकका श्रीमानले जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको छ। घटनामा संलग्न फार्मासिस्ट र सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको छ भने आवश्यक परे अन्य व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रहरीले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा इन्दुलेखा क्लिनिक दर्ता नै नभएको समेत खुलेको छ।
घटनापछि खत्री नर्सिङ होम क्षेत्रमा स्थानीयको भीड बढेको र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।
सरोकारवालाहरूका अनुसार बुटवल क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका क्लिनिक तथा फार्मेसीहरूको संख्या बढ्दै गएको छ। आवश्यक मापदण्ड, स्वीकृति र दक्ष चिकित्सकको निगरानीबिना सेवा दिँदा यस्ता जोखिमपूर्ण घटना दोहोरिने खतरा बढिरहेको छ।यस घटनाले स्वास्थ्य सेवा क्षेत्रको नियमन, अनुगमन र उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।
![]()

