काठमाडौं :- मध्यपूर्वका विभिन्न देशमा जारी द्वन्द्वका कारण अहिलेसम्म २० जना नेपाली घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् भने एक जनाको उपचार जारी रहेको छ। उपचाररत व्यक्ति पनि सामान्य अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, मध्यपूर्वका देशहरूमा सामाजिक सञ्जालमा निषेधित सामग्री सेयर गरेको आरोपमा ७ जना नेपाली पक्राउ परेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई सम्बन्धित देशको कानुनअनुसार कारबाही हुने जानकारी प्राप्त भएको छ। उनीहरूलाई एक वर्षसम्म जेल सजाय, नगद जरिवाना वा डिपोर्ट (देश निकाला) समेत हुन सक्ने उल्लेख गरिएको छ।

मन्त्रालयले मध्यपूर्वका देशहरूले युद्धसम्बन्धी विषयमा सामाजिक सञ्जालमा लेख्न कडा प्रतिबन्ध लगाएको भन्दै त्यस्तो गतिविधि नगर्न सबै नेपालीलाई आग्रह गरेको छ।यसैबीच, मन्त्रालयले हालसम्म मध्यपूर्वका कुनै पनि देशमा नेपाली नागरिक अलपत्र परेको अवस्था नरहेको स्पष्ट पारेको छ।

