बाँके:- बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ लाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्न सकिने प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद गौडेलले बताएका छन्। उर्वर भूमि, सिँचाइको सम्भावना र बजार नजिकको पहुँच हुँदाहुँदै पनि अपेक्षित उत्पादन हुन नसकेको उल्लेख गर्दै उनले स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

किसानहरूले मल–बीउ अभाव, सिँचाइ समस्या, बजार मूल्यको अनिश्चितता र प्राविधिक सहयोगको कमी मुख्य चुनौती भएको बताएका छन्। यसबारे गौडेलले सिँचाइ विस्तार, न्यूनतम समर्थन मूल्य निर्धारण तथा सरकारी खरीद प्रणाली अनिवार्य गर्न पहल गर्ने प्रतिबद्धता जनाए।“बाँकेमा सम्भावना प्रशस्त छ, अब नीति कागजमा होइन, खेतमै देखिनुपर्छ,” उनले भने।
नेपाली कांग्रेस बाँके जिल्ला सभापतिसमेत रहेका गौडेलले युवा लक्षित कृषि उद्यम, सहुलियत ऋण, आधुनिक प्रविधि र कोल्ड स्टोरेज पूर्वाधारमार्फत कृषिमा रोजगारी सिर्जना गर्न सकिने धारणा राखे। यसले वैदेशिक रोजगारीतर्फको पलायन घटाउन सहयोग पुग्ने उनको विश्वास छ।


गौडेलको प्रतिबद्धता–पत्र सार्वजनिक
उम्मेदवार गौडेलले आफ्नो प्रतिबद्धता–पत्रमार्फत सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्थालाई प्राथमिकतामा राखेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा शहरी विकास, कृषि–उद्योग–व्यापार र रोजगारी, युवा तथा खेलकुद, महिला, असहाय बालबालिका, ज्येष्ठ नागरिक र सिमान्तकृत समुदाय, संस्कृति–पर्यटन–वन तथा वातावरण, खानेपानी तथा सरसफाइ, सञ्चार तथा पत्रपत्रिका लगायतका विषय समेटिएका छन्।
प्रतिबद्धता–पत्रमा भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापना गर्दै शून्य सहनशीलताको नीति अपनाइने उल्लेख छ। संघीय विद्यालय शिक्षा ऐन जारी गर्न पहल गर्ने, बाँके क्षेत्र नम्बर–१ लाई शिक्षाको ‘हब’का रूपमा विकास गर्ने तथा कोहलपुर नगरपालिकाको रिङरोड पूर्णता दिई व्यवस्थित शहरका रूपमा विकास गर्न पहल गर्ने जनाइएको छ।
त्यसैगरी बजेट विनियोजन भइसकेको राप्ती सोनारी गाउँपालिकाको बैजापुर–कुम्भरदेखि नरैनापुर गाउँपालिका जोड्ने सडक तत्काल निर्माण प्रक्रियामा अगाडि बढाउन पहल गरिने उल्लेख छ। कृषकलाई मल, बीउ र औजार सहज रूपमा उपलब्ध गराउने, राप्ती सोनारी र नरैनापुरका रंगशालाको स्तरोन्नति तथा व्यवस्थापन गर्ने योजना पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ।
वि.सं. २०२१ सालमा पर्वतमा जन्मिएका गौडेल वि.सं. २०३८ सालदेखि कोहलपुरमा बसोबास गर्दै आएका छन्। वि.सं. २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका उनी नेपाल तरुण दल कोहलपुरका संस्थापक अध्यक्ष हुन्। जिल्ला कार्यसमिति सदस्य, सह–सचिव, क्षेत्रीय सभापति हुँदै केन्द्रीय संगठन विभाग सदस्यसमेत भइसकेका गौडेल आफूलाई स्पष्ट वक्ता र काम गर्ने नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्।
स्थानीयवासीहरू अब नाराभन्दा व्यवहारिक कार्यक्रम कार्यान्वयन हुनुपर्ने अपेक्षामा छन्। कृषि, पूर्वाधार र सुशासनका मुद्दामा गौडेलले अघि सारेका योजनाले मतदातालाई कत्तिको विश्वस्त बनाउँछ भन्ने विषय नै निर्वाचनको मुख्य चासो बनेको छ।

