एजेन्सी :- विनाशकारी बाढीपहिरोले क्षतिग्रस्त बनाएको दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाह जोड्ने प्रमुख जी–२१६ राष्ट्रिय राजमार्ग पुनः सञ्चालनमा ल्याउन चीनले उद्धार तथा पुनर्निर्माणको काम तीव्र पारेको छ।

नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको बाढीपहिरोले केरुङ आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको बताइएको छ। क्षेत्रीय सरकारले सार्वजनिक गरेको विवरणअनुसार विपद्मा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन्।
बाढी र पहिरोले केरुङ बन्दरगाहतर्फ जाने जी–२१६ राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि चिनियाँ उद्धार तथा निर्माण टोली सडक खुलाउने काममा केन्द्रित भएको छ। सडकमा थुप्रिएको पहिरो, लेदो र ढुंगा हटाउनुका साथै जोखिमयुक्त सडक संरचनालाई मजबुत बनाउने काम भइरहेको छ।

सयभन्दा बढी कामदार फिल्डमा
केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका एक सयभन्दा बढी कामदार परिचालन गरिएको छ। उनीहरू ढुंगा भरेर ग्याबियन बक्स तयार गर्ने, आवश्यक ढुंगा उत्खनन गर्ने तथा निर्माण सामग्री भण्डारण गर्ने काममा खटिएका छन्।
चाइना रेलवे कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुपअन्तर्गत तिब्बत
इन्जिनियरिङ मुख्यालयका कमान्डर लिउ मिङयुआनका अनुसार विपद् उद्धार तथा राहत मुख्यालयको निर्देशनअनुसार राहत सामग्रीको आपूर्ति सुनिश्चित गर्दै स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स निर्माणसहित आधारभूत तयारी भइरहेको छ।
तयार गरिएका ग्याबियन बक्स प्रभावित क्षेत्रमा पुर्याएर तीव्र बहाव भएका नदी किनार तथा सडकका कमजोर र जोखिमयुक्त भागमा ठूला ढुंगासहित राखिनेछ। यसबाट सडकको आधार मजबुत बनाउँदै थप क्षतिको जोखिम कम गर्ने लक्ष्य राखिएको छ।.
उद्धारकर्मीका लागि डोरी–भर्याङसहित सुरक्षित निकास
जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका उद्धारकर्मीको सुरक्षाका लागि समेत विशेष व्यवस्था गरिएको छ। जी–२१६ राजमार्गको सफाइ तथा पुनर्निर्माणमा खटिएको चाइना एनेङ कन्स्ट्रक्सन ग्रुपले पहिलोपटक डोरी–भर्याङसहित आकस्मिक उद्धार तथा सुरक्षित निकास मार्ग प्रयोग गरेको छ।
अचानक बाढी, पहिरो वा अन्य जोखिम उत्पन्न भएमा उद्धारकर्मीलाई छिटो सुरक्षित स्थानमा पुग्न सहज होस् भन्ने उद्देश्यले आश्रयस्थलसहित यस्तो संरचना तयार गरिएको जनाइएको छ।
सोमबार बिहान ११ बजेसम्म तीनवटा डोरी–भर्याङ जडान गरिएको थियो। तिनको कुल लम्बाइ करिब १८० मिटर रहेको बताइएको छ।
१५८ उद्धारकर्मी र २८ उपकरण परिचालन
चाइना एनेङले राजमार्ग मर्मत तथा पुनर्निर्माणका लागि १५८ जना आपत्कालीन उद्धारकर्मी परिचालन गरेको छ। एक्स्काभेटर र लोडरसहित २८ वटा उपकरण पनि सडक खुलाउने काममा प्रयोग गरिएको छ।
निरन्तरको प्रयासपछि सोमबार दिउँसोसम्म केरुङ बन्दरगाहबाट करिब १.१ किलोमिटर जी–२१६ राजमार्ग पुनः सञ्चालनमा ल्याइएको चिनियाँ उद्धारकर्मीले जनाएका छन्।
नेपाल–चीन आवागमन तथा केरुङ क्षेत्रको आपूर्ति व्यवस्थाका लागि महत्वपूर्ण मानिने राजमार्गलाई जतिसक्दो छिटो सुरक्षित रूपमा सञ्चालनमा ल्याउन उद्धार, सडक सफाइ र संरचना मजबुतीकरणको काम एकसाथ अघि बढाइएको छ।
(सीसीटीभी प्लस)

