भैरहवा :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। प्रत्यक्ष तर्फका उम्मेदवार डा. लेखजंग थापा, समानुपातिक उम्मेदवार ज्ञानु पौडेल तथा पुनमकुमारी अग्रवालसहित पार्टीका नेता तथा कार्यकर्ताहरूले गरेको घरदैलोमा मतदाताले उत्साह देखाएका छन्।

पछिल्ला दिनमा भइरहेको घरदैलो अभियानले चुनावी माहोल तताउँदै लगेको छ भने नयाँ विकल्प खोजिरहेका मतदाता रास्वपातर्फ झुक्दै गएको संकेत पार्टीले दिएको छ। डा. थापाले विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग आफ्ना योजना साझा गर्दै मत मागिरहनु भएको छ।
घरदैलोका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार र सुशासनलाई प्रमुख प्राथमिकता राख्न आग्रह गरेका छन्। मतदाताले पुराना दलप्रति बढ्दो निराशाबीच वैकल्पिक शक्तिलाई अवसर दिन चाहेको प्रतिक्रिया दिएका छन्। “हामीलाई काम गर्ने प्रतिनिधि चाहिएको छ, भाषणबाट आजित बनिसक्यौं, अब काम गर्ने युवा प्रतिनिधि चाहिन्छ,” सिद्धार्थनगर नगरपालिका ३ का लक्ष्मण भण्डारीले भन्नुभयो।

यस्तै, मायादेवी गाउँपालिका ८का कुलप्रसाद काफ्लेले जनताको भावना अनुसार काम गर्ने व्यक्तिलाई बिजयी बनाउने बताएका छन्। “हामी २१ फागुन हुने प्रतिनिधि सभा निर्वाचनको पर्खाइमा छौं। जनता परिवर्तनको पक्षमा रहेकाले यसपटक बिगतको मन र मत दुबै बदल्ने सोच बनाएका छौं। बिगतका निर्वाचनमा जस्तो दलहरुको छलकपट यसपटक स्वीकार हुँदैन,” उनले भने।
रुपन्देही–३ शहर र ग्रामीण बस्ती मिसिएको क्षेत्र हो। बजार क्षेत्रदेखि कृषिको व्यापक संभावना भएको यस क्षेत्रमा मतदाताले मल–बीउ, सिँचाइ र बजार सुनिश्चितता जस्ता विषयमा स्पष्ट योजना मागेका छन्। महिला समूहले सुरक्षित मातृत्व सेवा, सीपमूलक तालिम र साना उद्यम प्रवद्र्धनमा जोड दिन आग्रह गरेका छन्।
डा. थापाले आफू विकास, पारदर्शिता र जवाफदेहिताको एजेन्डा लिएर मैदानमा आएको बताए। “मेरो पहिलो एजेन्डा सुशासन हो, त्यसपछि क्रमिक विकासमा लाग्नेछौं,” उनले भने। उनले रुपन्देही–३ लाई नमूना निर्वाचन क्षेत्र बनाउने योजना रहेको, नीतिगत सुधार, भ्रष्टाचार नियन्त्रण र स्थानीय सम्भावनाको उपयोगमार्फत दीर्घकालीन विकासको आधार तयार गर्ने बताए।
युवा मतदाताको आकर्षण नयाँ दलप्रति रहेको छ। सुनिल यादवले भने, “सामाजिक सञ्जालको सक्रिय प्रयोग, प्रत्यक्ष संवाद र मुद्दा–केन्द्रित अभियानले रास्वपाप्रतिको झुकाव बढाएको हो।”
चुनावी माहोल तात्दै जाँदा रुपन्देही–३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। विशेषगरी युवा, शिक्षित वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएका मतदाताबीच नयाँ राजनीतिक विकल्पको खोजी तीव्र भइरहेको छ।
रास्वपा उम्मेदवारहरु स्थानिय मतदातालाई आफ्नो पक्षमा पार्न मेहनत गरिरहेका छन्। युवा मतदाताले आफ्नो भावनाअनुसार नयाँ र युवा उम्मेदवारलाई रोज्ने बताएका छन्।
रुपन्देही–३ का निर्वाचन परिचालन समितिका ईन्चार्ज नारायण भण्डारीले रास्वपाले क्षेत्रबाट सहज जित निकाल्ने विश्वास व्यक्त गर्दै घरदैलोमा देखिएको उत्साह र समर्थनले पार्टीलाई खुसी बनाएको छ।

