बुटवल :- भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउन न्यू होराइजन इङ्गलिश बोर्डिङ सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्यालय परिवारले मंगलबार उक्त रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेको हो। विपद्को कठिन समयमा प्रभावित नागरिकको दुःखमा साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको विद्यालयले जनाएको छ।
कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट २ लाख ५२ हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूबाट व्यक्तिगत रूपमा १ लाख ११ हजार १०५ रुपैयाँ सहयोग गरिएको हो।

यी सबै रकम जोड्दा बाढीपीडितका लागि न्यू होराइजन परिवारबाट ९ लाख १८ हजार ६६० रुपैयाँ सहयोग जुटेको छ।
‘विपद्मा पीडितको साथ दिनु सामाजिक दायित्व’
विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताए।
उनका अनुसार शिक्षा प्रदान गर्ने संस्थाको जिम्मेवारी कक्षाकोठाभित्र मात्र सीमित हुँदैन। समाज कठिन परिस्थितिबाट गुज्रिरहेका बेला मानवीय सेवामा हातेमालो गर्नु पनि शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्व भएको भन्दै न्यू होराइजन परिवार सहयोगमा जोडिएको हो।
विद्यालयले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विद्यालय, शिक्षक–कर्मचारी र विद्यालय व्यवस्थापन समितिको नेतृत्वसमेत एउटै अभियानमा जोडिएर गरिएको यो सहयोगले विपद्को समयमा संस्थागत प्रयाससँगै व्यक्तिगत सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।

