काठमाडौं:- बलिउड अभिनेता सोनु सुद नेपालमा बाढी प्रभावित नागरिकका लागि राहत सामग्री लिएर काठमाडौं आइपुगेका छन्।

गत भदौ १० गते आएको विनाशकारी बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको खबर सार्वजनिक भएपछि सुदले प्रभावित नागरिकलाई सहयोग गर्ने घोषणा गरेका थिए। सोही प्रतिबद्धताअनुसार उनी मंगलबार राहत सामग्रीसहित काठमाडौं आइपुगेका हुन्।

विपद्को खबरपछि सुदले सामाजिक सञ्जालमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित परिवारका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने बताएका थिए।

उनले नेपाललाई यो कठिन समयमा एक्लो महसुस नगर्न आग्रह गर्दै आफूहरू सहयोग लिएर आउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सुद चलचित्र अभिनयसँगै विपद् तथा संकटमा परेका नागरिकलाई सहयोग गर्ने सामाजिक कार्यका कारण पनि परिचित छन्। नेपालमा आएको बाढीपछि उनले देखाएको चासो र सहयोगको प्रतिबद्धताले नेपाली बाढीपीडितप्रति अन्तर्राष्ट्रियस्तरबाट समेत ऐक्यबद्धता देखिएको छ।
विपद्ले धेरै परिवारको घर, सम्पत्ति र खुसी खोसेको अवस्थामा राहत सामग्री लिएर सुद स्वयं नेपाल आइपुग्नुलाई प्रभावित नागरिकप्रतिको मानवीय साथका रूपमा हेरिएको छ।

