सुनौली बसपार्क :-सार्वजनिक स्थलमा बिक्री हुने खाद्य तथा पेय पदार्थको सरसफाइ प्रत्यक्ष रूपमा नागरिक स्वास्थ्यसँग जोडिएको विषय भए पनि सुनौली बसपार्क क्षेत्रमा सरसफाइ र खाद्य सुरक्षासम्बन्धी प्रश्न उठ्न थालेका छन्।

विशेषगरी दैनिक सयौँ यात्रुले उपभोग गर्ने अखुँको जुस लगायत खुला रूपमा बिक्री हुने पेय पदार्थमा माखा बस्ने, फोहोर वातावरण देखिने तथा न्यून सरसफाइको अवस्था सामान्यजस्तै बनेको स्थानीयको गुनासो छ।
स्वास्थ्यकर्मीका अनुसार गर्मीयाममा बढी बिक्री हुने यस्ता पेय पदार्थमा आवश्यक स्वच्छता नअपनाउँदा विभिन्न संक्रमण तथा स्वास्थ्य समस्या फैलिने जोखिम रहने गर्दछ।

बसपार्क केवल यात्रु चढ्ने–ओर्लने स्थल मात्र नभई स्थानीय व्यापार, दैनिक उपभोग तथा सार्वजनिक सेवासँग जोडिएको संवेदनशील क्षेत्र भएकाले यहाँको सरसफाइमा देखिएको कमजोरीले यात्रु, स्थानीय व्यवसायी र सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।
स्थानीयवासीका अनुसार नगरपालिका, स्वास्थ्य शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र वातावरण तथा सरसफाइ शाखाले समय–समयमा अनुगमन गर्ने बताए पनि व्यवहारमा प्रभावकारी सुधार देखिएको छैन।
अनुगमन प्रतिवेदन र कागजमा सीमित हुने तर सार्वजनिक स्थलको वास्तविक अवस्था उस्तै रहने गुनासो बढ्दै गएको छ।खुला रूपमा बिक्री हुने पेय पदार्थलाई ढाकेर राख्ने व्यवस्था, सफा पानीको प्रयोग, फोहोर व्यवस्थापन, व्यवसायीलाई स्वास्थ्य तथा सरसफाइसम्बन्धी तालिम तथा नियमित निरीक्षणलाई प्रभावकारी बनाउनुपर्ने माग उठेको छ।
नागरिकले तिरेको कर सुरक्षित वातावरण र गुणस्तरीय सेवा प्राप्तिका लागि पनि भएकाले सार्वजनिक स्थलको सरसफाइ तथा खाद्य सुरक्षालाई सामान्य रूपमा नलिई सम्बन्धित निकायले व्यवहारिक सुधारतर्फ गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।

