काठमाडौं :- रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको १२ औँ साधारण सभा तथा छैठौँ अधिवेशन–२०८२ राजधानी काठमाडौंको बालाजुमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन्तोष रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

साधारण सभाका सभापति कृष्ण रानाभाट रहनुभएको थियो भने प्रमुख अतिथि रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाट रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि बहादुर रानाभाट र केन्द्रीय कोषाध्यक्ष तारा बहादुर रानाभाट रहनुभएको थियो।
कार्यक्रममा वाग्मती प्रदेश कार्य समितिकी संस्थापक अध्यक्ष पदमा रानाभाट, सल्लाहकार ओम कुमारी रानाभाट (बञ्जारा), शिवलाल रानाभाट, राजु रानाभाट, केन्द्रीय पूर्व कोषाध्यक्षद्वय बालचन्द्र रानाभाट र सुरेन्द्र रानाभाट, चितवन जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष राजु रानाभाट तथा काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाट लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

१२ औँ साधारण सभाको उद्घाटन केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटले पानसमा बत्ती बालेर गर्नुभएको थियो। कार्यक्रममा सन्तोष रानाभाटले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा उपस्थित अतिथिहरूले समाजको संगठनात्मक सुदृढीकरण, आपसी एकता र भावी कार्यदिशाबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो अवसरमा काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाटलाई ‘उत्कृष्ट अध्यक्ष’ र वाग्मती प्रदेश कार्य समितिकी सदस्य सिता रानाभाटलाई ‘उत्कृष्ट पदाधिकारी’ विधामा सम्मान गरिएको थियो। साथै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सम्पूर्ण पदाधिकारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको समापन सभापति कृष्ण रानाभाटले गर्नुभएको थियो भने गणेश रानाभाटले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
नयाँ कार्य समिति चयन
छैठौँ अधिवेशनबाट चयन भएको वाग्मती प्रदेश कार्य समितिको पदाधिकारी यसप्रकार रहेको छः
अध्यक्ष: सन्तोष रानाभाट
वरिष्ठ उपाध्यक्ष: बलराम रानाभाट
उपाध्यक्ष: झोक बहादुर रानाभाट
उपाध्यक्ष: प्रल्हाद रानाभाट
सचिव: संजित कुमार पतनी भाट
सह–सचिव: कमला रानाभाट
कोषाध्यक्ष: मिना रानाभाट
सदस्यहरू: प्रदीप रानाभाट, निराज रानाभाट, मिना पन्थी रानाभाट
सह–कोषाध्यक्ष तथा केही सदस्य पदहरू आगामी बैठकबाट थप गरिने जनाइएको छ।
छैठौँ अधिवेशनको निर्वाचन मण्डलको अध्यक्ष तारा बहादुर रानाभाट रहनुभएको थियो भने सदस्यहरूमा पदमा रानाभाट, राजु रानाभाट, ओम कुमारी रानाभाट (बञ्जारा) र मनिषा रानाभाट रहनुभएको थियो। नवनिर्वाचित पदाधिकारीहरूलाई तारा बहादुर रानाभाटले सपथ ग्रहण गराउनुभएको थियो भने हरि बहादुर रानाभाटले टिका तथा खादा लगाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
“हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवम् भाटबन्धुहरूबीच एकता” भन्ने मूल नारासहित वि.सं. २०४९ सालमा स्थापना भएको रानाभाट / भाट समाज नेपालले सामाजिक, सांस्कृतिक तथा संगठनात्मक गतिविधिहरू निरन्तर रूपमा अघि बढाउँदै आएको छ।

