बुटवल :- जिल्ला सहकारी संघ लिमिटेडको ४१औँ वार्षिक साधारणसभा संघका पूर्व अध्यक्ष ईश्वरचन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले जिल्ला सहकारी संघको विगतको गरिमामय इतिहासलाई जोगाउँदै संस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
संघमा आबद्ध सहकारी संस्थाहरूले भोग्दै आएका समस्या समाधानका लागि संघले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले संघको नाममा रहेको जग्गाको संरक्षण र व्यवस्थापनमा कडा कदम चाल्न आग्रह गरे।
साधारणसभामा संघका अध्यक्ष भीमप्रसाद तुलाचनले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरे। महासचिव दामोदर पंगेनीले संस्थागत प्रतिवेदन पेश गरे भने कोषाध्यक्ष सुवकान्त न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
लेखा सुपरिवेक्षण समितिको तर्फबाट समेत प्रतिवेदन पेश गरिएको थियो। बन्दसत्रमा प्रस्तुत सबै प्रतिवेदनमाथि गम्भीर छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
अध्यक्ष तुलाचनको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष टीका न्यौपानेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव बेलप्रसाद शर्माले गरेका थिए।
संघमा हाल ४०६ वटा सहकारी संस्था आबद्ध रहेका छन्। संघको सेयर पुँजी ४१ लाख २५ हजार रुपैयाँ रहेको छ भने निक्षेप बचत २ करोड ३५ लाख ७७ हजार ९ सय ९९ रुपैयाँ रहेको जानकारी सभामा दिइएको थियो।
साधारणसभामा हालको कानुनी व्यवस्थाअनुसार जिल्ला सहकारी संघले प्रत्यक्ष आर्थिक कारोबार तथा ऋण लगानी गर्न नपाउने प्रावधानका कारण सहकारी गतिविधिमा समस्या देखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
यस्तै, संघको नाममा सिद्धार्थनगर नगरपालिका–८ मा रहेको जग्गा अतिक्रमणमा परेको उल्लेख गर्दै कुनै पनि हालतमा संघको सम्पूर्ण जग्गा फिर्ता ल्याउने निर्णय साधारणसभाबाट अनुमोदन गरिएको छ।
उक्त जग्गामा केही माफियाको चलखेल हुन सक्ने आशंका व्यक्त गर्दै सहभागी सदस्यहरूले २०६२ सालअघिको अभिलेखअनुसार संघको जग्गा कायम हुनुपर्नेमा जोड दिएका छन्।
![]()

