काठमाडौं :- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि अस्तित्वमा रहेका सबै गुट र समूह समाप्त भएको घोषणा गरेका छन्।

बुधबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कोइराला, पौडेललगायत विभिन्न नेताका नाममा रहेका समूह अब नरहेको दाबी गरेका हुन्।
‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।

महाधिवेशनस्थलमा आउँदै गर्दा ‘गगन थापा समूह’ भनेर चिट बाँडिएको देखेको उल्लेख गर्दै उनले प्रतिनिधिहरूलाई कुनै समूहका आधारमा नभई पार्टीको भविष्य हेरेर विवेकपूर्ण निर्णय गर्न आग्रह गरे।
थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै र एकताबद्ध पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। विगतदेखि चल्दै आएका समूहगत विभाजन र भागबन्डाको अभ्यासभन्दा माथि उठेर पार्टीलाई संस्थागत रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
उनले आफ्नो अधिकांश समय पार्टीभित्रको आन्तरिक व्यवस्थापनमै खर्च नगर्ने पनि बताए। कांग्रेसलाई समाज र नागरिकसँग जोड्दै पार्टीका नीति, विचार र मुलुकका समसामयिक मुद्दामाथि सार्वजनिक बहसमा लैजाने आफ्नो प्राथमिकता रहने थापाको भनाइ थियो।
पार्टी नेतृत्वको जिम्मेवारी आन्तरिक विवाद मिलाउनमै सीमित हुन नहुने संकेत गर्दै उनले कांग्रेसले जनताका मुद्दा र देशको भविष्यबारे बढी समय खर्च गर्नुपर्ने धारणा राखे।
सभापति थापाले १५औँ महाधिवेशन सम्पन्न भएलगत्तै पार्टी संगठनलाई सक्रिय बनाउने र आगामी स्थानीय तह निर्वाचनसम्म आफू दिनरात खटिने प्रतिबद्धतासमेत जनाए।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र बुधबार समापन भएको हो। नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान गर्ने कार्यक्रम छ।

