बुटवल :-बुटवल उपमहानगरपालिका–११ देवीनगरको व्यस्त बस्तीबीच रहेको नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। सीमित स्रोत–साधनबाट सुरु भएको विद्यालय आज आधुनिक र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास भएको छ।

वि.सं. २०३३ सालमा स्थापना भएको यो विद्यालयले पाँच दशकभन्दा लामो यात्रामा शैक्षिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ। घना बस्तीको बीचमा रहेर पनि विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै ‘भीडबीचको उत्कृष्ट विद्यालय’ को छवि बनाएको छ।
विद्यालयमा हाल मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययनको व्यवस्था छ। सामान्य शिक्षासँगै प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ, विज्ञान र व्यवस्थापन विषयको अध्यापन हुँदै आएको छ। विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार विषय छनोट गर्न पाउने वातावरण विद्यालयले तयार गरेको छ।


नवीन औद्योगिक कदरबहादुर रिता माविको मुख्य विशेषता भनेको समावेशी शिक्षा हो। आर्थिक रूपमा कमजोर, सुकुम्बासी तथा विपन्न परिवारका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको छ।
हाल विद्यालयमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १ सय ८४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। आधुनिक कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय लगायतका सुविधा उपलब्ध छन्। विद्यालयले आगामी दिनमा गणित प्रयोगशाला र सूचना प्रविधि पूर्वाधारलाई थप सुदृढ बनाउने तयारी गरेको छ।
शैक्षिक उपलब्धिका दृष्टिले विद्यालयले राष्ट्रियस्तरमै सफलता हासिल गरेको छ। शैक्षिक असल अभ्यासतर्फ नेपालमै दोस्रो स्थान प्राप्त गरेको विद्यालयले अन्तर्राष्ट्रिय स्तरको मान्यता समेत हासिल गरिसकेको छ। सिभिल इन्जिनियरिङ शिक्षामा पनि विद्यालय देशकै उत्कृष्टमध्ये पर्न सफल भएको छ।
प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार विद्यालयको मुख्य प्राथमिकता गुणस्तरीय शिक्षा हो। “हामी विद्यार्थीको संख्या मात्र होइन, उनीहरूको भविष्य निर्माणमा केन्द्रित छौँ,” उनले बताए।
विद्यालयलाई लुम्बिनी प्रदेशकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित पूर्वाधार विस्तार, प्रविधिमैत्री शिक्षण र व्यावहारिक शिक्षामा जोड दिइएको छ।
समुदाय, अभिभावक, शिक्षक र विद्यार्थीको साझा प्रयासले अघि बढिरहेको यो विद्यालय बुटवलको शिक्षा क्षेत्रमा प्रेरणाको केन्द्र बनेको छ। नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयले प्रमाणित गरेको छ,सफलता ठूलो ठाउँमा होइन, स्पष्ट लक्ष्य र समर्पणमा निर्भर हुन्छ।

