काठमाडौ :- स्वर्णिम वाग्ले ले अर्थमन्त्रीको कार्यभार सम्हाल्दै महत्वपूर्ण नीतिगत निर्णयहरू अघि सारेका छन्। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका वाग्लेले पहिलो निर्णयस्वरूप राजस्व अनुसन्धान विभागसहित करिब १५ वटा ऐन खारेज गर्ने विषयमा अध्ययन सुरु गर्ने बताएका छन्।

शुक्रबार कार्यभार सम्हाल्दै उनले १३ चैतसम्मको आर्थिक अवस्थाबारे विस्तृत ‘ह्वाइटपेपर’ (आर्थिक स्थितिपत्र) तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन्। उनका अनुसार रास्वपाले सार्वजनिक गरेको वाचापत्रअनुसार आर्थिक सुधारका विषयहरूलाई कार्यान्वयन गर्न कार्ययोजना बनाउन यो कदम चालिएको हो।
वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरूलाई आधार मानेर राजस्व अनुसन्धान विभाग खारेजीसहित पुराना कानुनहरू पुनरावलोकन गर्ने बताए। “पुराना र जटिल कानुनी संरचनाले प्रणालीगत समस्या सिर्जना गरेको छ, त्यसलाई सुधार गर्न आवश्यक छ,” उनले भने।

उनका अनुसार निजी क्षेत्रको सुरक्षाका लागि नीतिगत सुधार, ठूला आयोजनालाई तीव्रता दिने वातावरण सिर्जना तथा बजेट निर्माणलाई केन्द्रमा राखेर थप कार्यदलहरू पनि गठन गरिनेछ।
अहिलेको अर्थतन्त्रमा शिथिलता देखिए पनि केही सकारात्मक संकेत रहेको उल्लेख गर्दै वाग्लेले राजस्व संकलन चुनौतीपूर्ण रहेको, तर बैंक निक्षेप बढेको बताए। “अब टुक्रा–टुक्रा होइन, प्रणालीगत सुधार आवश्यक छ,” उनले भने।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन अत्यधिक नियमन हटाउँदै उत्प्रेरणामूलक नीतिहरू अघि बढाइने बताए। “जनताले दिएको जिम्मेवारीअनुसार अब समाधानमुखी काम गर्छौं,” उनले भने, “सिस्टम सुधारमा समय लाग्न सक्छ, तर हामी इमानदार प्रयास गर्छौं।”

