बुटवल :-प्रचारप्रसारको अन्तिम दिन रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा १३५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध सुरज बिक र नरु जिसीको नेतृत्वमा कांग्रेसमा प्रवेश गरेका यी युवालाई नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति प्रजापाल गिरी, प्रदेशसभा क्षेत्रीय सभापति चिन्तामणी भुसाल, वडा नं. १ का सभापति फटिक केसी, लक्ष्मण घिमिरे र अनिल पहाडी लगायतले स्वागत गरेका छन्।
उक्त दिन कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा र बुटवल क्षेत्रका घरदैलो कार्यक्रम पनि सञ्चालन गरेका थिए। तिलोत्तमा नगरपालिका–४ अन्तर्गत ड्राइभरटोल, डिङ्गरनगर र सीमानगरका स्थानीयले उत्साहपूर्वक सहभागिता जनाएका थिए भने बुटवल उपमहानगरपालिका वडा नं. ११ का विभिन्न टोलमा समेत मतदातासँग प्रत्यक्ष संवाद भएको थियो।


घरदैलोका क्रममा पौडेलले सुकुम्बासी समस्या समाधान, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मतदाताका सुझाव र आवश्यकता अनुसार क्षेत्रको समग्र विकासका योजना अघि बढाइने बताए।
उम्मेदवार पौडेलले नवयुवा र पछाडि परेका वर्गलाई राष्ट्र निर्माणमा जोड्ने उद्देश्यका साथ ज्ञान, विज्ञान र प्रविधिको विकासमा आधारित अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाए। मतदाताले घरघरमा उनलाई खादा, माला र टीका लगाएर स्वागत गर्दै जितको शुभकामना तथा आर्शीवाद प्रदान गरे। पौडेलले मतदाताको माया र सद्भावले आफ्नो जीत सुनिश्चित भएको विश्वास व्यक्त गरेका छन्।

