काठमाडौं :- पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले ‘२७ औं फ्लोरा एक्स्पो–२०८२’ आयोजना गर्ने भएको छ। ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म (बिहान ०९:०० बजेदेखि साँझ ०५:३० बजेसम्म) राजधानी काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा एक्स्पो सञ्चालन हुने आयोजकले जनाएको छ।

एक्स्पोमा व्यवसायिक स्टल ६५ वटा, सूचनामूलक स्टल १० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, प्रतिस्पर्धा स्टल २ वटा, सेल्फी स्टल १ वटा तथा फूड स्टल १ वटा गरी जम्मा ८२ वटा स्टल रहनेछन्।
आयोजकका अनुसार एक्स्पोमा एकै छानामुनि करिब ५ सयभन्दा बढी प्रजातिका फूल तथा फलफूल, आलंकारिक इनडोर तथा आउटडोर बिरुवाहरू, सिरेमिक र प्लास्टिकका गमलाहरू, अर्गानिक मल, गार्डेनिङ तथा कौशी खेतीका सामग्री, उन्नत बीउबिजन र बगैंचाका आधुनिक औजारहरू अवलोकन तथा खरिद गर्न सकिनेछ। साथै पुष्प व्यवसाय सुरु गर्न इच्छुकहरूका लागि विज्ञहरूबाट व्यावसायिक परामर्शको व्यवस्था पनि मिलाइएको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए।

यस वर्ष पनि नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरीय फूल तथा आलंकारिक बोटबिरुवाहरूबीच प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बोटबिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन आदि) विधामा उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिनेछ। फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल) का अनुसार सहभागी नर्सरी वा फर्मले बढीमा तीन विधामा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।
एक्स्पोमा पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात–निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहनेछ। फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ता सहभागी हुने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ। विभिन्न संघ–संस्थाको सहयोग र सहकार्यमा आयोजना हुने एक्स्पोले पुष्प व्यवसायलाई थप सशक्त बनाउनुका साथै वातावरणीय सचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

