बैतडी :- बैतडीको पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ। बिहीबार राति भएको बस दुर्घटनामा १३ जनाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले सूचना जारी गरी एक दिन शोक बिदा दिने निर्णय गरेको हो।

जारी सूचनाअनुसार नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संघ–संस्थाहरू शुक्रबार एक दिनका लागि बन्द रहनेछन्।

बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ भौनीबाट दुलही लिएर फर्किएको जन्ती बोकेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो। पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

दुर्घटनापछि स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार कार्य गरेको थियो। घाइतेहरूको उपचार विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ।

