गुल्मी :- गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलमा अवस्थित इन्दिरा माध्यमिक विद्यालयले ग्रामिण परिवेशमै रहेर पनि शिक्षा क्षेत्रमा उदाहरणीय प्रगति गर्दै आफूलाई स्थापित गर्दै आएको छ। सीमित स्रोत, भौगोलिक कठिनाइ र पूर्वाधारको अभावका बाबजुद विद्यालयले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय काम गरिरहेको छ।

विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर केसीका अनुसार शिक्षकहरूको मेहनत, विद्यार्थीको अनुशासन र अभिभावकको निरन्तर सहयोगकै कारण विद्यालयले निरन्तर प्रगति गर्न सफल भएको हो। “साधन कम भए पनि उद्देश्य स्पष्ट र प्रतिबद्धता बलियो भयो भने शिक्षामा सकारात्मक परिवर्तन सम्भव हुन्छ,” उहाँले बताउनुभयो। 
विद्यालयमा नियमित कक्षा सञ्चालन, आन्तरिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाइनुका साथै सह–पाठ्यक्रम गतिविधि र अनुशासनमा विशेष जोड दिइँदै आएको छ। पछिल्ला वर्षहरूमा प्रविधिमैत्री शिक्षातर्फ उन्मुख हुँदै डिजिटल सामग्री प्रयोग गर्ने अभ्यास पनि क्रमशः विस्तार हुँदै गएको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक केसीले ग्रामिण विद्यालयहरूले अझै पनि अपेक्षित राज्य सहयोग पाउन नसकेको गुनासो व्यक्त गर्नुभयो। “समयमै पूर्वाधार विकास, शिक्षक तालिम तथा आवश्यक स्रोतसाधन उपलब्ध भए ग्रामिण विद्यालयहरूले पनि शहरी विद्यालयसँग सहजै प्रतिस्पर्धा गर्न सक्छन्,” उहाँको भनाइ छ।
शिक्षासँगै विद्यार्थीको नैतिक विकास, व्यवहारिक ज्ञान र सामाजिक जिम्मेवारीमा जोड दिँदै विद्यालयले सक्षम, सचेत र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्य लिएको छ। स्थानीय समुदायसँग सहकार्य गर्दै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको विद्यालय प्रशासनले जनाएको छ।
ग्रामिण इलाकामा रहेर पनि शिक्षा क्षेत्रमा आशाको किरण बनेको इन्दिरा माध्यमिक विद्यालय धुर्कोट–६ रजस्थलले आगामी दिनमा अझ सकारात्मक नतिजा दिने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
![]()

