बुटवल :- अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता कायम नभएसम्म देशका आर्थिक सूचकहरूमा अपेक्षित सुधार आउन नसक्ने स्पष्ट पार्नुभएको छ। अहिले देखिएको आर्थिक संकट समाधानका लागि तोकिएको समयमै निर्वाचन गर्नुको कुनै विकल्प नरहेको उहाँको भनाइ छ।

रुपन्देही उद्योग संघद्वारा बुटवलमा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको विकल्प खोज्नु देशलाई थप अनिश्चय र दुर्घटनातर्फ लैजाने कार्य हुने चेतावनी दिनुभयो।
“जबसम्म राजनीतिक स्थिरता हुँदैन, तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन,” उहाँले भन्नुभयो, “अहिलेको संकट समाधानका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन अपरिहार्य छ। निर्वाचनका विषयमा धेरै राजनीतिक दल र छिमेकी मुलुकहरू सकारात्मक छन्। यसको विकल्प खोज्नु भनेको अनिश्चितता बढाउनु हो।”

अर्थमन्त्री खनालले पछिल्लो समय लगानीको वातावरण बन्दै गएको दाबी गर्दै नेपालको इतिहासमै पहिलो पटक मूल्यवृद्धि न्यून तहमा रहेको उल्लेख गर्नुभयो। यसले आम उपभोक्तालाई राहत पुगेको बताउँदै उहाँले आर्थिक गतिविधि विस्तार हुनुका साथै मुद्रा सञ्चिति र वित्तीय क्षेत्रमा पूँजी सञ्चिति बढेको जानकारी दिनुभयो।
“सूचकहरू सकारात्मक भए पनि अपेक्षित रूपमा लगानी बढ्न सकेको छैन,” उहाँले भन्नुभयो, “अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि बढाइएको छ। जेन–जी आन्दोलनपछि केही आर्थिक गतिविधि विस्तार भएका छन्।”
बुटवल पहिलेबाटै औद्योगिक हबका रूपमा परिचित रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले यसको निरन्तर विकासका लागि सरकार आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५ सयभन्दा बढी स्वदेशी उद्योगका स्टलहरू रहेका छन्।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी–व्यवसायीलाई सहज हुने गरी बजेट निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो। पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले औद्योगिक प्रदर्शनीले स्वदेशी उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रकुमार पाण्डेले यस्ता प्रदर्शनीले उत्पादनमूलक उद्योग प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो भने परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापनमा सरकार प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगर्दा धेरै बजेट फिर्ता गएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले धारणा राख्नुभएको थियो।
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार आचार्यलाई
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य सम्मानित हुनुभएको छ। नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्वारा स्थापित उक्त पुरस्कार अर्थमन्त्री रामेश्वर खनाल र उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित प्रदान गर्नुभयो।
हाल मेचीकाली दैनिक बुटवलका संवाददाता तथा लोकान्तर डटकमका लुम्बिनी प्रदेश संवाददाता रूपमा कार्यरत आचार्यसहित हालसम्म २५ जना पत्रकार यो पुरस्कारबाट सम्मानित भइसकेका छन्।
वि.सं. २०५७ सालमा स्थापना गरिएको उक्त पुरस्कारको यस वर्षको छनोट समितिको संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसी तथा सदस्यमा अर्थविद् मनिकर कार्की र उद्योग संघका निर्वतमान अध्यक्ष दिलिप सापकोटा रहनुभएको थियो।
संघका महासचिव सुमन बस्यालको सञ्चालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले गर्नुभएको थियो।

