गुल्मी :- युवा समाजसेवी तथा व्यवसायी विकास टन्डनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नं. १ बाट ३५ वर्षमुनिको युवा कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय हुँदै आएका टन्डनले सामाजिक सेवा, व्यवसाय र राजनीतिक अनुभवलाई संगठन निर्माणसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनले ‘पुस्तान्तरणसँगै रूपान्तरण’लाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
वि.सं. २०७२ सालमा बुटवलस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका टन्डन नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गुल्मी क्षेत्र नं. १ को क्षेत्रीय सदस्यमा निर्वाचित भएका थिए।

सामाजिक क्षेत्रमा समेत सक्रिय उनले लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्ष, रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनको उपाध्यक्ष तथा गुल्मी–चारपाला रुपन्देही सम्पर्क समाजको सचिव लगायत विभिन्न जिम्मेवारी सम्हालिसकेको बताएका छन्।
टन्डनले युवाको आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासम्म पुर्याउने, स्थानीय तहका कार्यकर्ताको भावना नेतृत्वसम्म जोड्ने तथा अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
उनले राजनीतिलाई पद प्राप्तिको माध्यमभन्दा सामाजिक सेवाको निरन्तरताका रूपमा हेरेको बताउँदै महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाए संगठनमा युवा सहभागिता, जवाफदेहिता र कार्यकर्तामैत्री अभ्यासका लागि भूमिका खेल्ने बताएका छन्।

