गुल्मी :- रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको दुःखमा साथ दिँदै रेसुङ्गा भजन साँझ, गुल्मीले आर्थिक सहयोग प्रदान गरेको छ।

बाढीका कारण प्रभावित तथा विस्थापित नागरिकको राहतमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले २१ हजार १२१ रुपैयाँ सहयोग गरेको हो।
विपद्को कठिन समयमा पीडित परिवारलाई राहत र पुनःस्थापनामा सानो भए पनि टेवा पुगोस् भन्ने मानवीय भावनासहित उक्त रकम प्रदान गरिएको जनाइएको छ।

बाढीले धेरै परिवारको घरबार, सम्पत्ति र सामान्य दैनिकी प्रभावित बनाएको अवस्थामा सरकारी प्रयाससँगै विभिन्न संघसंस्था, व्यवसायी तथा नागरिकस्तरबाट समेत सहयोग जुट्ने क्रम जारी छ। यही अभियानमा रेसुङ्गा भजन साँझले पनि आफ्नो तर्फबाट हातेमालो गरेको हो।

भजन र संस्कृतिमार्फत समाजलाई जोड्दै आएको रेसुङ्गा भजन साँझले विपद्को घडीमा सेवामार्फत पनि मानवीयताको सन्देश दिएको छ।
रकमको आकारभन्दा पनि संकटमा पीडितको साथमा उभिने भावना महत्वपूर्ण हुने भन्दै संस्थाको यो सहयोगले ‘विपद् जहाँ आए पनि पीडा साझा हो’ भन्ने सन्देश दिएको छ।

