बुटवल:- मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित हुनुभएको छ। समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

साधारणसभाबाट उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोख्रेल चयन हुनुभएको छ। गंगा गैरेलाई सदस्यमा मनोनयन गरिएको छ। बाँकी दुई सदस्य नयाँ कार्यसमितिको बैठकबाट मनोनयन गरिने जनाइएको छ।

नवनिर्वाचित सभापति ज्ञवालीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताका पक्षमा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले मानव अधिकारका सवालमा नागरिकलाई सचेत बनाउने, अधिकार हननका घटनामा आवाज उठाउने तथा समाजमा शान्ति, सद्भाव, समानता र न्यायपूर्ण वातावरण निर्माणका लागि संस्थालाई थप क्रियाशील बनाउने बताउनुभयो।
मानव अधिकार, लोकतन्त्र र अहिंसाको पक्षमा वकालत गर्दै आएको समाजले रुपन्देहीमा पनि मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि, नागरिक अधिकारको संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिको संयोजकमा समाजका पूर्वसभापति कृष्ण भट्टराई (खिमप्रसाद) रहनुभएको थियो। समितिका सदस्यमा तेजेन्द्र केसी र सरोज गौतम रहनुभएको थियो।
नवगठित जिल्ला कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।


