तिलोत्तमा :-रुपन्देहीको तिलोत्तमा नगरपालिका–११, शिवपुरस्थित शिवपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको ब्लड क्यान्सरका कारण निधन भएको छ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित भण्डारीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।
भण्डारीले शिवपुर माध्यमिक विद्यालयमा तीन दशकभन्दा बढी समय शिक्षण सेवा गर्नुभएको थियो। उहाँ केही महिनाअघि उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएको थियो। उहाँले माध्यमिक तहमा सामाजिक शिक्षा, नैतिक शिक्षालगायत विभिन्न विषय अध्यापन गराउँदै आउनुभएको थियो।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, संस्थागत विकास र विद्यार्थीको भविष्य निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको विद्यालय परिवारले जनाएको छ।
सहकर्मी तथा विद्यालय परिवारले उहाँलाई मिलनसार, सहयोगी र सरल स्वभावका कुशल शिक्षकका रूपमा स्मरण गरेका छन्।
तीन दशकभन्दा लामो समय शिक्षण पेसामा समर्पित भई थुप्रै विद्यार्थीको शैक्षिक तथा नैतिक विकासमा योगदान पुर्याउनुभएका भण्डारीको निधनले विद्यालय परिवार, पूर्वविद्यार्थी, शिक्षक तथा स्थानीय शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।


