बुटवल :- लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘पी’ नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट तथा संस्थापक सम्मान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।

शुक्रबार बुटवलस्थित डल्फिन रेस्टुरेन्टमा क्लबका अध्यक्ष लायन कृष्ण बन्धु अर्यालको अध्यक्षता तथा क्लबका पूर्वअध्यक्ष एवं लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘पी’ नेपालका डीएटी को–चिफ एडभाइजर लायन विष्णु कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
क्लबको स्थापनाको १४ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा संस्थाको स्थापना, विकास र सामाजिक सेवाको यात्रामा योगदान पुर्याउने संस्थापक सदस्यहरूको योगदानलाई स्मरण गर्दै सम्मान गरिएको थियो।

सन् २०१२ अक्टोबर ९ मा स्थापना भएको लायन्स क्लब अफ बुटवल सेन्ट्रलले सामाजिक सेवा, मानवीय सहयोग, नेतृत्व विकास तथा विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत समाजमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै आएको छ।
चार्टर नाइटलाई क्लबको वार्षिकोत्सवका रूपमा मात्र नभई संस्थापकहरूको योगदानलाई सम्मान गर्ने, सदस्यहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने तथा आगामी दिनमा सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा लिइएको छ।
कार्यक्रममा क्लबको १४ वर्षे यात्रालाई स्मरण गर्दै संस्थागत एकता, सहकार्य र सेवाभावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
लायन्स क्लब अफ बुटवल सेन्ट्रलले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्य राखेको छ।

