बुटवल :- रसुवामा आएको भीषण बाढीले धेरै परिवारको खुसी खोस्यो, कतिलाई घरबारविहीन बनायो भने धेरैलाई राहत र पुनःस्थापनाको पर्खाइमा पुर्यायो। यही कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिन लुम्बिनी एग्रो इन्डस्ट्रिज प्रा.लि.ले सहयोगको हात अघि बढाएको छ।

कम्पनीले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो।
लुम्बिनी एग्रो इन्डस्ट्रिजका सञ्चालक भानु के.सी.ले विपद्को समयमा सहयोग गर्नु केवल सरकार वा कुनै एउटा संस्थाको जिम्मेवारी नभई समाजका हरेक पक्षको साझा दायित्व भएको बताएका छन्।


उनले दुःखको गहिराइ नाप्न र पीडाको मूल्य तोक्न नसकिए पनि संकटमा बढाइएको एउटा हात, बाँडिएको एउटा गाँस र गरिएको सानो सहयोगले समेत पीडितको जीवनमा आशा जगाउन सक्ने बताएका छन्।
कम्पनीले प्रदान गरेको सहयोगलाई ठूलो दाबीका रूपमा नभई विपद्को समयमा आफ्नो सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाह गर्ने एउटा सानो प्रयासका रूपमा लिएको जनाएको छ।

“मानवता त्यतिबेला अझ सुन्दर हुन्छ, जब हामी अरूको पीडालाई आफ्नै पीडा सम्झेर हातेमालो गर्छौँ,” भन्ने भावनासहित कम्पनीले अन्य व्यक्ति, संस्था तथा व्यवसायीलाई पनि आफ्नो सामर्थ्यअनुसार पीडितको सहयोगमा जोडिन आग्रह गरेको छ।
बाढीले भौतिक संरचना र सम्पत्ति मात्रै होइन, धेरै परिवारका सपना र भविष्यका योजना पनि प्रभावित बनाएको छ। यस्तो अवस्थामा राहतका लागि जुट्ने प्रत्येक सहयोगले पीडित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्कन केही न केही आधार प्रदान गर्ने कम्पनीको विश्वास छ।
सञ्चालक के.सी.ले विपद् कसैको मात्रै नभएको उल्लेख गर्दै पीडितको आँसु पुछ्न र निराशाबीच आशा जगाउन सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्ने बताएका छन्।
“संकटले नबोलाए पनि अघि बढौँ, सहयोगले जीवन बचाऔँ।” भन्ने सन्देशसहित लुम्बिनी एग्रो इन्डस्ट्रिजले विपद्को घडीमा मानवीय सहयोगलाई प्राथमिकता दिएको छ।

