जनकपुरधाम:- धनुषामा बिग्रँदै गएको सामाजिक तथा सुरक्षा अवस्थालाई सहज बनाउन आज प्रतिनिधिसभा सदस्यसहितको सर्वदलीय–सर्वपक्षीय बैठक बस्ने भएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकमा जिल्लाको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा तनाव न्यूनीकरणका विषयमा छलफल हुनेछ।
उहाँका अनुसार बैठक सकारात्मक र सहमतिपूर्ण भए आजै सद्भाव र्याली आयोजना गर्ने तयारी गरिएको छ। र्यालीमार्फत शान्ति, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने सन्देश प्रवाह गरिने जनाइएको छ।

सुनसरीमा भएको घटनापछि धनुषासहित मधेशका विभिन्न जिल्लामा तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो ३:३० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका तथा लक्ष्मीनिया गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, कानुनको पालना गर्न तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

