बुटवल:- रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की गंगा कुमारी पूर्वछाने (३६), कास्कीको पोखरा महानगरपालिका–१ निवासी किरणकृष्ण तिवारी, कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारु, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का रामचन्द्र खत्री (४२), दोलखाको शैलुङ गाउँपालिका–४ का पासाङ तामाङ (३८) तथा भारतको पश्चिम बंगाल, सिलिगुडी निवासी वासुमित्र आनन्द (४१) रहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेकाहरू बस्दै आएको कोठा तथा पसलमा गरिएको खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद गरिएको छ। बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।


प्रहरीले घटनास्थलबाट फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने विशेष कागज, कार्डबोर्ड, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद सामग्रीका आधारमा नक्कली नोट उत्पादन तथा कारोबारमा संलग्न गिरोहको सञ्जालबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका सबैमाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
नक्कली मुद्रा उत्पादन तथा कारोबार गम्भीर आपराधिक कसुर भएकाले यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ।

