बुटवल:- बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का दर्जनबढी युवाहरू विभिन्न राजनीतिक दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बदलिएको कांग्रेसमा आशा र भविष्य देखेर आफूहरू नेपाल तरुण दलमार्फत पार्टीमा आवद्ध भएको नवप्रवेशी युवाहरूले बताएका छन्।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई विजयी गराउने अभियानका साथ पार्टी प्रवेश गरेको उनीहरूको भनाइ छ। युवाहरूले विचार, संगठन र विकासको स्पष्ट मार्गचित्रसहित कांग्रेस अघि बढेको दाबी गरेका छन्।
नेपाल तरुण दल वडा समितिको आयोजनामा भएको कार्यक्रममा तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी र नेता जनक कोईरालाले नवप्रवेशी युवाहरूलाई स्वागत गरेका थिए।

नेपाल तरुण दल वडा समितिका सभापति शिव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सचिव जोशी, कांग्रेस नेता कोईराला, लुम्बिनी प्रदेश सदस्य इञ्जिनीयर कुशुमराज ज्ञवाली, तरुण दल क्षेत्रीय सभापति हसन्त लामा, तरुण दल बुटवल नगर सभापति सुजन पुन, नेपाली कांग्रेस बुटवल–९ का सभापति प्रदीप श्रेष्ठ तथा आशिष भण्डारीलगायतले युवाहरूको बढ्दो आकर्षणले रुपन्देही–२ मात्र होइन, देशभर कांग्रेसको पक्षमा सकारात्मक माहोल निर्माण भइरहेको बताएका थिए।
उनीहरूले युवाशक्तिको साथ र सक्रियताले निर्वाचनमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

