गुल्मी :-मालपोत कार्यालय गुल्मीमा सेवा लिन आउने सेवाग्राहीहरूले नक्सा, लालपुर्जा, नामसारी तथा सीमांकनसम्बन्धी काममा ढिलाइ हुने गरेको गुनासो गर्दै आएका छन्। विशेषगरी ग्रामीण भेगबाट आएका सेवाग्राहीहरू पटक–पटक कार्यालय धाउँदा पनि काम समयमै नहुने समस्याले हैरान भएको बताउँछन्।

सेवाग्राहीका गुनासोबारे मालपोत कार्यालय गुल्मीका कार्यालय प्रमुख सूर्यबहादुर सोमै जेसीसँग गरिएको संवादमा उहाँले समस्या समाधानप्रति कार्यालय गम्भीर रहेको स्पष्ट पार्नुभएको छ।
“मालपोतसम्बन्धी काम प्राविधिक र कानुनी प्रक्रियासँग जोडिएको हुन्छ। आवश्यक कागजात पूरा नहुँदा कतिपय फाइलमा ढिलाइ हुने गरेको छ,” उहाँले बताउनुभयो।
कार्यालय प्रमुखका अनुसार हाल सीमित जनशक्ति र बढ्दो सेवाग्राहीको चापका बीच पनि सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रयास भइरहेको छ।

“सबै सेवाग्राहीलाई समान, निष्पक्ष र पारदर्शी सेवा दिन हामी प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो, “कागजात पूरा भएका फाइलहरूलाई प्राथमिकताका आधारमा अघि बढाइँदैछ।”
यता सेवाग्राहीहरूले भने कार्यालयको सेवा प्रणालीलाई अझ सरल, छिटो र नागरिकमैत्री बनाउनुपर्ने माग राखेका छन्। विशेष गरी सूचना प्रवाहलाई प्रभावकारी बनाउने, फाइलको अवस्थाबारे जानकारी लिने सहज व्यवस्था मिलाउने र नक्सा तथा लालपुर्जा समयमै वितरण गर्नुपर्ने उनीहरूको भनाइ छ।
मालपोत कार्यालय गुल्मीले आगामी दिनमा सेवाग्राहीसँग प्रत्यक्ष समन्वय बढाउने, प्राविधिक व्यवस्थापन सुधार गर्ने तथा गुनासा सुन्ने संयन्त्रलाई थप प्रभावकारी बनाउने जनाएको छ। यसबाट जिल्लाका नागरिकले सहज, पारदर्शी र विश्वासिलो सेवा पाउने अपेक्षा गरिएको छ।

