भैरहवा :- गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ भैरहवामा सम्पन्न भएको छ।

नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गर्न र प्रत्येक जिल्लामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।
गृहमन्त्री अर्यालले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै शुन्य सहनशीलताको नीति अपनाएर राजश्व चुहावट नियन्त्रणमा लाग्नुपर्ने, व्यावसायिक ढंगले कार्यसम्पादन गर्नुपर्ने तथा आसन्न निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रमुख सचिव कृष्णप्रसाद काप्रीले पनि गोष्ठीको औचित्यबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशभर देखिएका सुरक्षा चुनौतीहरूको पहिचान गर्दै उपयुक्त रणनीति निर्माण गर्ने, चुनौतीहरूको समाधान गर्ने र एकीकृत तथा समन्वयात्मक ढंगले काम गर्न यो गोष्ठी महत्वपूर्ण भएको बताउनुभयो।
गोष्टिको उद्देश्य प्रदेशमा शान्ति सुरक्षालाई पूर्णरूपले सुनिश्चित गर्ने र सुरक्षा सम्बन्धी समन्वयलाई मजबुत बनाउनु रहेको आयोजकहरूले जनाएका छन्।

