बुटवल :- नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। सामाजिक क्षेत्रमा स्थापित छवि र उद्योग–व्यवसायको अनुभवलाई आधार मानेर कांग्रेसले उनलाई चुनावी मैदानमा उतारेको हो।

बुटवलमा उद्योग, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पौडेल यशोधा फुड्सका अध्यक्ष तथा बुटवल अस्पतालका अध्यक्ष हुन्। उद्योगमार्फत रोजगारी सिर्जना, स्वास्थ्य सेवाको विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा उनको योगदान उल्लेखनीय रहँदै आएको छ। स्थानीय स्तरमा सहयोगी स्वभाव र सामाजिक सक्रियताका कारण उनी सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन्।
कांग्रेस नेतृत्वले विकास, रोजगारी र सेवा क्षेत्रलाई प्राथमिकतामा राख्दै अनुभवी र स्थानीय रूपमा स्वीकार्य उम्मेदवार अघि सार्ने रणनीति अनुसार पौडेललाई उम्मेदवार बनाएको जनाएको छ। पार्टी स्रोतका अनुसार आर्थिक विकास र सामाजिक सेवाबीच सन्तुलन कायम गर्न सक्ने क्षमताका कारण उनी कांग्रेसको रोजाइमा परेका हुन्।

रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, नेकपाबाट सुवास पाण्डे (विश्वदीप) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर आशिष सुवेदी उम्मेदवार भइसकेका छन्। यी सबै उम्मेदवारबीचको प्रतिस्पर्धाले चुनावलाई चासोपूर्ण बनाएको छ।
कांग्रेसले पौडेलको उम्मेदवारीसँगै निर्वाचन अभियानलाई तीव्र बनाउने तयारी गरेको छ। संगठनलाई एकताबद्ध गर्दै घरदैलो र जनसम्पर्क अभियानमार्फत विकास, रोजगारी र सेवा केन्द्रित एजेन्डा लिएर मतदाताको घरदैलोमा पुग्ने कांग्रेसको योजना रहेको छ।
![]()

