बुटवल :-सैनामैनामा रहेको लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले शुक्रबार विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन्। आफ्नो जन्मदिनको अवसर तथा लायन्स क्लबको वार्षिक कार्ययोजनाअनुसार घिमिरेको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

सैनामैना नगरपालिका–१० अन्तर्गत पर्ने झिमझिमिया क्षेत्रको विपन्न बस्तीमा आयोजित कार्यक्रममा चिसो मौसमका कारण दैनिक जीवनमा कठिनाइ भोग्दै आएका करिब ३० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
कार्यक्रम लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नम्बर १० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरे र क्लबका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, विभिन्न सामाजिक अभियन्ता तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको समन्वय लायन अर्जुन ज्ञवालीले गरेका थिए। स्वागत मन्तव्य संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माले राखेका थिए भने कार्यक्रम सञ्चालन प्रथम उपाध्यक्ष चन्द्रप्रकाश वनले गरेका थिए।
लायन्स क्लब अफ सैनामैना मलमलाले यसअघि पनि विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबले आगामी दिनमा समेत यस्ता मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने जनाएको छ।
![]()

