बुटवल :- रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा यस वर्ष अहिलेसम्मकै धेरै अवलोकनकर्ता पुगेका छन्। बिहीबार एकैदिन करिब ६० हजार अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेपछि आयोजकसमेत अचम्मित भएका छन्।

बिहीबार बिहानैदेखि प्रदर्शनीस्थलको प्रवेशद्वारमा अवलोकनकर्ताको घुइँचो लागेको थियो। दिनभर र साँझ अबेरसम्म गेटदेखि स्टल र कार्यक्रमस्थलसम्म अत्यधिक भीड देखिएको थियो। पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्ने र बिहीबार दोस्रो सार्वजनिक बिदा परेकाले अवलोकनकर्ता उल्लेख्य संख्यामा आएको आयोजकको अनुमान छ।
रुपन्देही उद्योग संघका कोषाध्यक्ष विशाल वेल्वासेले बिहीबार मात्रै ६० हजार अवलोकनकर्ता प्रवेश गरेपछि व्यवस्थापनमा चुनौती थपिएको बताए। प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार यति धेरै अवलोकनकर्ता एकैदिन आउनु अहिलेसम्मकै रेकर्ड हो। “टिकट काउन्टरदेखि स्टल र कार्यक्रमस्थलसम्म व्यवस्थापनमा दबाब थियो, तर थप जनशक्ति परिचालन गरेर स्थिति सम्हाल्यौँ,” उनले भने, “स्टलधनीहरूको कारोबार राम्रो भयो, पर्यटन स्टलमा त टेक्ने ठाउँसमेत थिएन।”

संघकी सचिव मन्जु भुसालका अनुसार अत्यधिक भीडका कारण नियमित काउन्टरबाहेक अलग स्थानमा पनि टिकट काउन्टर सञ्चालन गरिएको थियो। सो दिन करिब ८ हजार टिकट छुट्टै काउन्टरबाट बिक्री गरिएको उनले जानकारी दिइन्।
प्रदर्शनीको पहिलो सातामै करिब १ लाख अवलोकनकर्ता पुगेका थिए भने कारोबार करिब ८ करोड रुपैयाँ पुगेको संघले जनाएको छ। बिहीबारको कारोबारको आधिकारिक तथ्यांक संकलन भइनसकेको भए पनि अहिलेसम्मकै उच्च कारोबार भएको संघका द्वितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन समितिका संयोजक युवराज आचार्यले बताए।
संघका अनुसार प्रदर्शनीमा स्वदेशी उत्पादनका स्टल मात्रै समावेश छन्। पुसको सुरुवातदेखि नै बुटवलमा हुस्सु र शीतलहर रहे पनि बिहीबार मौसम खुलेको र घाम लागेकोले अवलोकनकर्ता सहज रूपमा प्रदर्शनीमा पुगेका थिए।
महासचिव सुमन बस्यालले प्रदर्शनीमार्फत प्रविधि जानकारी, उद्योगी–उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क, उत्पादनको बजार प्रवर्द्धन, गुणात्मक प्रतिस्पर्धा, उद्योगीबीच समस्या र सम्भावनाबारे अन्तरक्रिया तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनीमा १० वटा पेभिलियन निर्माण गरिएको छ। ३९ जिल्लाका स्वदेशी उद्योगको सहभागिता रहेको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए।
प्रदर्शनीमा करिब ८ लाख अवलोकनकर्ता भित्र्याउने र ३० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको प्रचार–प्रसार संयोजक किरण खरेलले जानकारी दिए। मनोरञ्जनात्मक कार्यक्रमअन्तर्गत लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त कलाकारका सांगीतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य तथा वक्तृत्वकला, प्रदर्शनी आइडल र भजन प्रतियोगितासमेत सञ्चालन भइरहेको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले बताए।
यसअघि कृषिमा विषादीको प्रभावबारे विज्ञ छलफल गरिएको र शुक्रबार पर्यटन क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने गोष्ठी तथा सेमिनार उपसमिति संयोजक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारुले प्रदर्शनीको अवलोकन गरेका थिए।
![]()

